FLASH NEWS

न्याय खोजिरहेको आरती साहको परिवार र गृह मन्त्रालयबीच सहमति


नेपाल आवाज २९ फाल्गुन २०८०, मंगलवार २३:२१ मा प्रकाशित ९४९ पाठक संख्या

काठमाडौं – न्यायका लागि आन्दोलनरत स्वर्गीय आरती साहको परिवार र गृहमन्त्रालयबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा मंगलबार राति आरती साहका परिवारसँग गृह प्रशासनले सहमति गरेको हो । सहमतिअनुसार आरती साहको मृत्युबारे थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई गृहले खटाउनेछ ।


यसैगरी, परिवारसँग समन्वय गरेर अनुसन्धान टोलीले अनुसन्धान गर्ने र काम थालेको ४५ दिनभित्र चार वटा विषयमा जाँच गर्ने सहमतिपत्रमा उल्लेख छ । यस्तै, आरतीको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएको कमजोरीबारे थप अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे पनि जाँच गर्ने सहमति पत्रमा लेखिएको छ ।

सहमतिमा घटनाबारे तयार भएका मानवअधिकार आयोग र चिकित्सकका प्रतिवेदनसमेत अध्ययन गर्ने भनिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९, थापाचोककी २२ वर्षीया आरती शाह गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि आरतीको घर पक्षकाले आरतीले आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो भने माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै न्यायका लागि आन्दोलन गर्दै आएको थियो ।