FLASH NEWS

भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार ०८:२५ मा प्रकाशित ६९७ पाठक संख्या

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा सघाउनेलाई नै सुन तस्करी चाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।


सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा गठित आयोगले तस्करीमा माओवादी नेताहरूको ‘कनेक्सन’ पत्ता लगाउन सहयोग गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेललाई नै कारबाही सिफारिस गरेको हो। आयोगले ६ महिना लगाएर तयार पारेको छानबिन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। गत साउनमा हङकङबाट बे्रक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड– ०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए। विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो।

भन्सारका नासु रेवन्त खड्काले भन्सार एजेन्टसँगको मिलेमतोमा सुन गायब पारेको अनुसन्धानबाट खुल्न आएको थियो। भेपमार्फत ल्याइएको तस्करीको सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसमेत जोडिएको भन्दै अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख पोखरेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्र पठाएका थिए।

पोखरेलले महराका बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीलाई आग्रह गरेका थिए। उनले सुनसहितको भेप चोरीमा संलग्न भन्सारका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउन सिआइबीलाई निवेदन गरेका थिए।

सिआइबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ। सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ।

महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर भेप ल्याउने लि आफ्नो व्यापारिक साथीको भएको र सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन आग्रह गरेका थिए। महरा बाबुछोराले लीले बुढी गण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजुदरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो।

राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी सके भेप छाडिदिन। नसके लिलामीमा राखिदिन भनेको बयान सिआइबीलाई दिएका थिए। उनले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको तर उनको धन्दा के थियो भन्नेबारे आफू जानकार नभएको बताएका थिए।

भेप प्रकरणमा चिनियाँ नागरिक दाओजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेका थिए। भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो। भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए।

बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षागार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो। उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो।

उनले विमानस्थल भन्सार कार्यालयका नायबसुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए। त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए। भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो।

पोखरेलाई कारबाही सिफारिस गरेको सुन तस्करी जाँचबुझ आयोगले कृष्णबहादुर महरालाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन भनेको छ। महराको छोरा राहुल थुनामै छन्।

‘महराले सहयोग गरिदिनू भनेका हुन्’ : पोखरेल

म मिति २०७९-०५-२० गतेदेखि त्रिवि भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको पदमा कार्यरत रहिआएको छु। मिति २०७९-०९-१० गते फ्लाई दुबईको फ्लाई नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हाङसोङले दुईवटा सुटकेसमा ७३ वटा बट्टामा ल्याएका ७३० थान इलेक्ट्रिक सिगरेट जफत भई मिति २०७९-१०-२९ गते मुद्दा तथा लिलाम शाखामा दाखिला भएको थियो।

उक्त इलेक्ट्रिक सिगरेट सो शाखामा दाखिला भएपछि नियमानुसार लिलाम वा नष्ट गर्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा विभिन्न व्यक्तिहरूले मालवस्तु लिलाम प्रक्रिया अगाडि बढाइदिई हामीलाई नै सकार गराइदिने वातावरण बनाइदिनू भनी मलगायत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद पौडेललाई समेत भनेका थिए।

सोही क्रममा कृष्णबहादुर महराले निजको मोबाइल नं. ९८५१२२४०५५ बाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ, के रहेछ हेरिदिनू, सहयोग गरिदिनू भनी भनेका थिए। निज राहुल महराले मेरो मोबाइल नं. ९८४१२९५४१३ मा एसएमएस गरी म राहुल महरा हो, भेटेर कुरा गर्नु छ भनी म्यासेज पठाएका थिए।

मसँग पहिले चिनजान नभएको, आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले मेरो कार्यालयको कार्यकक्षमा आई भेटी सो इलेक्ट्रिक सिगरेट चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए। निज राहुल महरा ६÷७ पटक सोही विषयलाई लिएर कार्यालयमा दबाब दिएका थिए।

एक दिन निज राहुल महरा तीन जनासहित सोही विषयमा कुरा गर्न आउँदा कुरा गर्ने क्रममा नाम थरसमेत थाहा नभएका अ.५५ वर्षको मोटो शरीर भएको उचाइ ५.७ फिट भएको मंगोलियन जस्तो देखिने व्यक्तिले जफत भएको मालवस्तु रहेको सुटकेस हेर्नका लागि अनुरोध गरेका थिए।

सोपश्चात् निजलाई गोदाममा रहेको माल वस्तु किन हेर्नुपर्‍यो, तपाईंहरू पटकपटक किन यो कामका लागि आउनुभएको छ, सो सुटकेसमा कुनै शंकास्पद मालवस्तु रहेको छ कि, यसमा प्रहरीले समेत अनुसन्धान गर्ने कुरा रहेको छ भनी निजहरूको नियत बुझ्न भनिदिएको थिएँ। साथै, यदि आयोजनाका लागि इलेक्ट्रिक सिगरेट चाहिने भए बजारमा अरू पनि इलेक्ट्रिक सिगरेट पाउन सकिने भन्दा निजले होइन, यो जफत भएको इलेक्ट्रिक सिगरेट नै चाहिन्छ भनी जवाफसमेत दिएका थिए।

सोपश्चात् कुनै खास इलेक्ट्रिक सिगरेटका लागि उनीहरूको अत्यधिक चासो अस्वाभाविक लागेकाले सो मालवस्तुको सम्बन्धामा थप छानबिन गर्ने क्रममा गोदाममा रहेको इलेक्ट्रिक सिगरेट साटिएको अवस्थामा फेला पारी विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकाले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचारसमेत गरेको हुँ।

– टपेन्द्र कार्कीले लेख्नु भएको यो खबर हामीले आजको नागरिक दैनिक पत्रीकाबाट साभार गरेका हौं ।