FLASH NEWS

काठमाडौँको टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १५:०० मा प्रकाशित ५३५ पाठक संख्या

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले बैशाख १६ गते मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) संचालन गरेको छ ।


सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको अभ्यासमा गृहमन्त्रालय अन्तर्गत नेशनल इमर्जेन्सी अप्रेशन सेन्टरका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधीहरु तथा स्थानीय जनप्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

विपद् प्रतिकार्य अभ्यासले सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिबृद्धी र सामाग्रीहरुको अध्यावधिक गर्नुकासाथै सरोकारवाला निकायहरु वीच समन्वय कायम गरी एक आपसमा सीप आदान–प्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षती न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्नेछ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुवीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चुस्त, दुरुस्तकासाथ थप प्रभावकारी बनाउनको लागि समय–समयमा यस्ता अभ्यासहरुको आयोजना गर्दै आईरहेको बताए ।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्युनिकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गरी अगाडी बढिरहेको बताए ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी राफ्ट बोट, मोटर बोट, डकी बोटको सहायताले पिडितहरुको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराईमा डुबेका पिडितहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए ।

यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा केवलकार आपतकालिन उद्धार अभ्यास समेत संचालन गरेका थियो ।