FLASH NEWS

धादिङमा नेपाली सेनाद्वारा जडान गरिएको ‘हाईब्रिड बृज’ प्रधान सेनापति शर्माद्वारा उद्घाटन


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार २०:४३ मा प्रकाशित ८८९ पाठक संख्या

मलेखु – उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको ४२ दशमलव ६७ मिटर लम्बाई र ४ दशमलव २ मिटर चौडाइको ‘हाईब्रिड बृज’ आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।


नेपाली सेनाको प्राविधिक सहयोगमा १ करोड १० लाख खर्च गरि खनियाबास गाउँपालिका–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने उक्त ‘हाईब्रिड बृज’ नेपाली सेनाको प्रधानसेनापती महारथी प्रभुराम शर्मा र धादिङका संघीय सांसद एवम् कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

खनियाबास गाउँपालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्ल, प्रदेश सांसद डम्बरबहादुर तामाङ, गोबिन्द लम्साल, रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा, नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि.ए .र थ्रि. बि.को स्वामित्वमा रहेको उक्त ‘हाईब्रिड बृज’ बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो ।पुल(बृज) ३० टन क्षमताको छ ।

गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनि अड्डाको प्राविधिक सहयोग निमार्ण सम्पन्न भएको हो ।

यो ‘हाईब्रिड बृज’ले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ । ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल (बृज)निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् ।

पुल (बृज) नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दथ्यो । वर्षाको समयमा पानी बढेपछि यातायात विच्छेद भई खाधन्य सामग्री लान सकिदैन थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उत्तरका नागरिक अब त्यो बाध्यताबाट मुक्त भएका छन् ।

धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेसी जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल (बृज) निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने छ ।

सडक भएर पनि पुल(बृज) नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौं । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पुरा हुने खनियाबास गाउँपालिकाका स्थानीय प्रकाश तामाङको भनाई छ ।