FLASH NEWS

नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं- अध्यक्ष यादव


नेपाल आवाज २६ बैशाख २०८१, बुधबार १३:०३ मा प्रकाशित ३७९ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संबैधानिक रहेको बताएका छन् ।


जसपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टी दर्ता प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै अशोक राईले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टी विभाजन गरेको आरोप लगाए ।

उनले भने- ‘म अमेरिका जादा कार्यवाहक अध्यक्षको जिम्मेवारी नै दिएर गएको हुँ । विवाद थियो भने पार्टीमा छलफल हुनुपर्थ्यो । म बाहिर गएको बेलामा जसपा र नेकपा एसले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गर्‍यो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित थियो । पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा केही व्यक्तिहरूले महत्वकांक्षा र व्यक्तिगत स्वार्थको कारण पार्टी फुटाएको घोषणा गरे, निर्वाचन आयोगमा पनि दर्ता भएको कुरा आएको छ ।’

उनले पार्टी निर्वाचन र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत ऐन विपरीत पार्टी दर्ता भएको बताए ।

उनले भने- ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे, नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि होला। त्यसैले हामी कोटमा चुनौती दिन्छौँ ।

अध्यक्ष यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारिएको बताउदै जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै रहेको जानकारी दिए । उनले नयाँ दल दर्ता प्रक्रियाको विरोधमा आफुहरु अदालत जाने समेत बताए ।