FLASH NEWS

नीति तथा कार्यक्रम पारित हुन दिन्नौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले


नेपाल आवाज ६ जेष्ठ २०८०, शनिबार २१:१४ मा प्रकाशित १८४३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ।


एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन्।

शनिबार संघीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे।

सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्‌बाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे।

‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन। यसले कुनै डेष्टिनेशननै तोकेन। कुनै बाटो नै देखाएन,’

उनले भने, ‘नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्‍यो नि। त्यसकारण यो त के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो। यो स्वीकार योग्य छैन, समर्थन योग्य छैन। विरोध योग्य छ। र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउँमा दस्तावेज पेश हुनु दुःखको कुरा हो। यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिशन त्यही हो।’

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन रहेको बताए। सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रमजस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उनको दाबी थियो।

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल दुई वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए।

उनले भने, ‘सरकारको कमिटमेन्ट देखिँदैन देश बनाउने खालको। यो नीति, कार्यक्रम, नीति कार्यक्रमजस्तै छैन। जसले यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै कुरा छैन। प्रधानमन्त्रीजीको कार्यकाल २ वर्ष गठबन्धनले तोकेको हुनाले २ वर्षे कार्यक्रम राखिएको हो कि? त्यसकारण यो धेरै अस्पष्ट, अन्यौलग्रस्त, दिशाहीन छ।’