FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : १२औं दिनमा पति भेट्न हिरासत पुगिन् मञ्जु


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार १२:२३ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – बालकृष्ण खाँण पक्राउ परेको १२औं दिनमा पत्नी मञ्जु श्रीमान्‌लाई भेट्न हिरासत पुगेकी छन् । उनले आज बिहान काठमाडौं प्रहरी परिसर पुगेर श्रीमान्‌लाई भेटेकी हुन् ।


परिसरमा बालकृष्णलाई राखिएको कोठैमा प्रहरीले मञ्जुलाई प्रवेश दिएको थियो । उनीहरूबीच पाँच मिनेटजति कुराकानी भएको स्रोतको भनाइ छ । बालकृष्णलाई परिसरका डीएसपीको कार्यकक्षभित्र रहेको एउटा कोठामा राखिएको छ । त्यही कोठामा श्रीमान्-श्रीमतीको भेट भएको छ ।

बालकृष्ण पक्राउ परेकी दिनदेखि मञ्जु सम्पर्कविहीन बनेकी थिइन् । उनको मोबाइल निरन्तर स्वीचअफ थियो ।  सम्पर्कविहीन भएकी मञ्जु  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन्।

यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन्। यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो। तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन।खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन्।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्। अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गर्नेछ। त्यसपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ। त्यसपछि थुनछेक बहस हुनेछ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्नेछ।