FLASH NEWS

अर्थतन्त्रलाई गति दिन लागिपरेको छुः प्रधानमन्त्री दाहाल


नेपाल आवाज ३१ जेष्ठ २०८०, बुधबार २२:२८ मा प्रकाशित १२३७ पाठक संख्या

दैलेख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् ।


कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लु नगरपालिका –१२ स्थित दह गाउँमा आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए ।

आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताए ।

उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको बताए।

मन्त्रिपरिषद्को पहिलो बैठकदेखिनै आर्थिक संकट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाई छ।

दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उनले दैलेखमा धेरै जातजातिका पुर्खाको बसोबास रहेको इतिहास पाइएको बताए । प्रधानमन्त्री दाहालले यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्नसके विश्व मानचित्रमा दैलेखको पहिचान देखिने बताए ।

आफूलाई सानोमा दाहाल बन्धुको पुर्खाहरू दैलेखबाट आएको भन्दा कौतुहल लाग्ने गरेको उनले स्मरण गरे ।

“दाहालहरूको उद्गम थलो पश्चिमको दैलेख भन्ने गर्थे, त्यतिबेला मलाई कौतुहल लाग्थ्यो, अहिले पुर्खाको थलोमा आइपुग्दा मलाई गर्व लागेको छ”, उनले भने ।

पुर्खाहरूको पवित्र भूमिमा पुगेर आफू धन्य भएको बताउँदै प्रधानमन्त्री दाहालले पुण्य भूमिको विकासका लागि लाग्ने बताए।

प्रधानमन्त्री दाहालले भाइबन्धुको एकतासँगै सिङ्गो राष्ट्रको एकता गर्ने आफ्नो पहिल्यैदेखिको सपना भएको बताए । सो अवसरमा उनले दैलेखको दहमा रहेको वत्सगोत्रीय दाहाल, लम्साल, रुपाखेती, कुँवर र राणा आदिपुरुषका रुपमा प्रख्यात कुल शिरोमणि दासुको पहिलो शालिक समेत अनावरण गरेका थिए ।

प्रधानमन्त्री दाहालले जाँदाजाँदै दैलेखमा रहेको पंचकोशी क्षेत्रको विकासका लागि आफ्नो भूमिका रहने समेत प्रतिबद्धता व्यक्त गरे।