FLASH NEWS

समाजवादी मोर्चा असार ४ गते घोषणा हुन्छ: उपाध्यक्ष पाण्डे


नेपाल आवाज २ असार २०८०, शनिबार १९:२५ मा प्रकाशित २७१९ पाठक संख्या

चितवन – समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन ।


उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुनेछ ।

समाजवादी प्रेस सङ्गठन नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिईएको उनको भनाई छ ।

‘कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुुनेछ ।’

उनका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भए पनि अब मुर्त रुप लिन लागेको हो ।

सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उनको भनाइ थियो ।सुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानुनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए ।

‘नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनःसुरु गर्नुपर्छ । जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने

फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।