FLASH NEWS

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था अझै स्थिर, मुटुको चालको निगरानी जारी


नेपाल आवाज ३ असार २०८०, आईतवार १२:३१ मा प्रकाशित २३५९ पाठक संख्या

काठमाडौं – मुटुको चालमा गडबडी आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।


अस्पतालका कार्यकारी निर्देशक प्रा । डा । रत्नमणि गजुरेलले आज (आइतबार) बिहान पौने ११ बजे जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ।

‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

मुटुको चालमा कमी आएपछि राष्ट्रपति  पौडेललाई शनिबार सबैरे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

यसअघि उनी हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका थिए। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।

यसअघि गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्ली गएर उपचार गराएका थिए।