FLASH NEWS

दुई करोड बढीको लागूऔषधसहित १२ जना पक्राउ


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १४:३७ मा प्रकाशित २२०३ पाठक संख्या

काठमाडौं – लागुऔषध कारोबार गरेको आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्। ब्यूरोले हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड (एसिड एलएसडी) बरामद गरेको जनाएकाे छ ।


पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली छन्।

ब्यूरोले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो ।

उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए ।

सेरना र गौतमको बयानका आधारमा एनसीबीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको थियो । प्रतिवादीहरूको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी २ करोड ३३ लाख १५ हजार २५० रहेको प्रवक्ता जोशीले बताए ।