FLASH NEWS

‘वान एक्स बेट’मा अनलाइन जुवा : चर्चित भ्लगर राजकुमार तामाङ पक्राउ


नेपाल आवाज १० असार २०८०, आईतवार २२:२४ मा प्रकाशित २०१७ पाठक संख्या

काठमाडाैं – ‘वान एक्स बेट’मार्फत विभिन्न खेल तथा अन्य प्रतिस्पर्धामा बाजी लगाउने कामको प्रवर्द्धन गरेको आरोपमा चर्चित भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङ पक्राउ परेका छन्।


नेपालका धेरै सस्क्राबइर र फलोअर रहेका भ्लगरमध्ये एक काभ्रेको तेमाल-८ घर भएका उनलाई ‘वान एक्स बेट’बाट अवैध पैसा लिएर अनलाइन जुवा प्रवर्द्धन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंको बुढानीलकण्ठमा बस्दै आएका थापाले युट्युब च्यानल तथा अन्य मल्टिमिडिया सामाजिक सञ्जालबाट ‘वान एक्स बेट’ प्रचारमा सहयोग पुर्‍याउने काम गरेका थिए।

प्रहरीले उनीविरुद्ध यसअघि पक्राउ परेका युट्युबर र कलाकारहरुसँगै सट्टेबाजी गर्न वा गराउन नहुने कसुरमा अनुसन्धान थाल्न हिरासतमा राखेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले थापालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको बताएका छन्।

यसअघि जेठ ३२ गते विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा ८ जना पक्राउ परेका थिए।

त्यसबेला हास्यकलाकारहरू ‘बल्छी ध्रुवे’ उर्फ मरिचमान श्रेष्ठ, ‘म्याकुरी’ उर्फ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, सरोज घिमिरे (ढेडो बूढो),  भटभटे माइला भन्ने बेगम नेपाली तथा युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) पक्राउ परेका थिए।

त्यसअघि प्रहरीले ‘वान एक्स बेट’मार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो। त्यसबेला मुख्य सञ्चालक दिनेश खड्कासहितलाई पक्राउ गरेर हिरासतमा लिएपछि कलाकार युट्युबर पनि यसमा तानिएका थिए।

पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरुको आइतबार तेस्रोपटक म्याद थप गरिएको हो ।