FLASH NEWS

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या


नेपाल आवाज १६ असार २०८०, शनिबार १२:४३ मा प्रकाशित १५४९ पाठक संख्या

जनकपुरधाम – रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ बौधा पतौरामा २४ वर्षीया कविता देवी र उनकी अन्दाजी २ वर्षीया छोरी आरुही कुमारी साहको हत्या भएको प्रहरीले जनाएको छ ।


कविताको शव आँगनमा फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । प्रहरी आज बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् ।

घटना पश्चात मृतकका श्रीमान वीरेन्द्र कुमार साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको स्थानीयको अनुमान छ । यसअघि पनि श्रीमान वीरेन्द्र लगायत परिवारले दाइजोको निहुँमा कवितामाथि कुटपिट गर्दै आएका थिए ।

प्रहरीले मृतकका जेठानी र सासूलाई सोधपुछका लागि लगेको छ । घटना शंकास्पद देखिएको र थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।

घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने डिएसपी यादवले बताए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको छ ।