FLASH NEWS

पाँच घन्टापछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक


नेपाल आवाज १८ असार २०८०, सोमबार ०८:१४ मा प्रकाशित १७१७ पाठक संख्या

चितवन – पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।


चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खोला तीन नम्बर पुल नजिक गएराति १ः५० बजे चट्टाने पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।

ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।

‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने।

पाँच घण्टापछि यातायात सूचारु भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

पहिरोमा परी ना ६ ख ७१० नम्बरको कण्टेनर ट्रक पनि पल्टिएको थियो। उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको तामाङले जानकारी दिए।

घाइते ट्रक चालक वीरगन्जका ३५ वर्षिय राम पुकारको मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको छ । घाइते चालकलाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएको थियो । उनको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ।

हिजो (आइतबार) झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सुचारु भएको थियो । त्यसको केहि समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सुचारु गरिएको थियो ।

यो सडकखण्ड हुँदै दैनिक औसतमा १० हजारभन्दा धेरै सवारीसाधन आवतजावत गर्छन् ।

काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडकखण्डको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । यात्रु बढी मर्कामा परेका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।