FLASH NEWS

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री


नेपाल आवाज १८ असार २०८०, सोमबार १६:३१ मा प्रकाशित १६६३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाईसीएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएर छाड्ने दृढता व्यक्त गरे ।

नक्कली शरणार्थी प्रकरणमा जस्तै, बालुवाटार जग्गा प्रकरणमा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्दै उनले विगतमा सबैजसो ठूला काण्डका दोषीलाई पनि कानुनी दायरामा ल्याएरै छाड्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सवालमा साथ र सहयोग दिन युवा नेतृत्वलाई प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।

सरकारको कामको प्रचारप्रसार गर्न र नकारात्मक कामको आलोचना गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई आग्रह गरे ।

सरकार स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएको उल्लेख गर्दै उनले जनअपेक्षा पूरा गर्ने र भ्रष्टाचारलाई कुनै पनि अर्थमा संरक्षण नगर्ने नीति रहेको बताए ।

सरकारको सकारात्मक कामलाई जनतामाझ लैजान र पार्टीलाई विस्तार गर्न, युवालाई थप आकर्षित गर्न प्रधानमन्त्री दाहालले वाइसिएललाई निर्देशन दिए ।

सो अवसरमा उनले आगामी असोज ८ देखि १० गतेसम्म हुन लागेको वाइसिएलको राष्ट्रिय सम्मेलनलाई नयाँ आधारमा संगठन निर्माण र जनतासँग जोडिने गरी तयारी गर्न पनि निर्देशन दिए ।

सो अवसरमा नयाँ ढङ्गको पार्टी निर्माणमा नयाँ प्रयोग, देशको आवश्यकता सहितको नेतृत्वमा केन्द्रिकरण लगायतका विषयमा प्रधानमन्त्री दाहाल वाईसीएलका पदाधिकारीसँग छलफल भएको थियो ।