काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डले भ्रष्टाचारलाई जरैदेखि उखेल्नु पर्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कु्रा बताएका हुन् ।
उनले भ्रष्टाचार वडा सदस्यको तहसम्म पुगिसकेको पनि बताए । उनले भने, ‘हिजो प्रधानमन्त्री र मन्त्रीहरुको तहमा हुन्थ्यो होला अहिले वडा सदस्यसम्म पुगिसकेको छ । वडाध्यक्षले योजना तोक्ने वडाध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडाध्यक्षको सालोले चाहिँ ५१ सय लिने यस्ता खालको घटना पनि सुरु भएको छन् ।’
भष्टाचार नियन्त्रणको अभियान नै चलाउनुपर्ने बताउँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।
उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताए । उनले नक्कली शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको जिकिर गरे।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सदनमा पहिलोपटक आफूले उठाएको दाबी गरे । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको कुरा मैले नै सर्वप्रथम उठाएँ संसद्मा । त्यतिबेला प्रमुख प्रतिपक्ष दलका एकजना नेताले हाम्रो नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो। र, मैले अपराध गर्ने मान्छे सांसद मन्त्री प्रधानमन्त्री जो भए पनि कारबाही हुनुपर्छ भनेको थिएँ । यति ठूलो काण्डको बीचमै जरो काटिएको छ । त्यो छेउसम्म पुगेन । त्यो पुनः खोज्नुपर्यो । भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ ।’
उनले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताए।