FLASH NEWS

बंगलादेशमा डेंगी महामारी, मृत्यु हुनेको संख्या १७६


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार २३:१७ मा प्रकाशित १४८३ पाठक संख्या

एजेन्सी- बंगलादेशमा डेंगी संक्रमणले महामारीको रुप लिँदा मृत्यु हुनेको संख्या १ सय ७६ पुगिसकेको छ । तीमध्ये १४ वर्षमुनिका बालबालिकाको संख्या ३१ छ । यो वर्ष सुरु भएयता पछिल्लो जुलाइको २३ दिन दिनको अन्तरालमा ११५ जनाको मृत्यु भएको छ ।


जवकि अघिल्लो वर्ष सोही अवधिमा मृत्यु हुनेको संख्या २९ थियो । पछिल्लो बुधबार भने एकै दिन मृत्यु हुनेको संख्या १९ थियो । जुन यस वर्षकै उच्च मृत्युदर भएको रेकर्ड गरिएको छ ।

बंगलादेश सरकारले आधिकारिक रुपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रुप लिएको बताएका छन् । यही वर्ष मात्रै झण्डै ३३ हजार डेंगीका बिरामीहरू अस्पताल भर्ना भएका छन् ।

बंगलादेशमा यसअघिका वर्षहरूमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउनसक्ने भन्दै सचेत गराएका छन् ।

यसैबीच स्वास्थ्यविदहरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकहरूसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् ।

डेंगीका कारण बंगलादेशका हजारौं बालबालिकाहरू प्रभावित भएको बताइएको छ । यससँगै आम समुदायमा रोगलाई लिएर त्रास फैलिएको छ । विशेषगरी राजधानी ढाकामा हरेक दिन मृत्युका खबरले सामाजिक सञ्जालमा महत्त्व पाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सामाजिक सञ्जालमा मृत्युका खबर र तस्बिर तीव्र रुपमा आउनाले पनि आम समुदायमा रोगप्रति त्रास फैलिएको छ । विशेषगरी अभिभावकहरू बालबालिकाको सम्भावित अवस्थालाई लिएर चिन्तित बनेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार ७ हजार २ सय ४० जना १४ वर्षमुनिका बालबालिका डेंगीबाट संक्रमित भएका छन् । यसैबीच सहरी क्षेत्रमा ठूलो संख्यामा अभिभावकले आफ्ना बालबालिकालाई स्कुल पठाउन रोकेका छन् ।