FLASH NEWS

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेको माग


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १२:१३ मा प्रकाशित १३५७ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।


आज (बिहीबार) राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए ।

त्यसपछि दाहालले तस्करीलाई संरक्षण गर्ने सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणमा छानविन गर्न नसक्ने बताएका छन् ।१०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

सांसद दाहाललेसुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको बताए। गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ । प्रश्न उठेपछि राजीनामा दिनुको सट्टा गृहमन्त्रीले फुर्ति देखाउँदै हिँडेको सांसद दाहालको आरोप छ। दाहालले तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नताबारे आशंका गर्नु नपर्ने थियो भन्दै प्रश्न समेत गरेका छन् ।

सांसद दाहालले भने, ‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’

उनले विमानस्थलबाट अवैधरुपमा ठुलो मात्रामा सुन भित्रिएको उक्त प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ ।

उनले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको पनि नाम जोडिएकाले छानविन गर्न माग गरे।