FLASH NEWS

विमानस्थल पुगेर अर्थमन्त्रीले दिए जाँच-पासमा कडाइ गर्न निर्देशन


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १२:३४ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। बिहीबार अर्थमन्त्रालयका सचिवसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अनुगमन गरेका हुन्।


केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो। उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् ।

यसै क्रममा अर्थमन्त्री महतले अनुगमनपछि भन्सार कार्यालयका कर्मचारीलाई आयात–निर्यात हुने वस्तुको कडाइका साथ जाँच–पास गर्न निर्देशन दिएका छन् ।

उनले करिब एक क्विन्टल सुन प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताएका छन् ।  विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले भने, ‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ । कुनै बहानामा हामीले उदासिनता देखाउने या आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।’

करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभइ समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।

मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए ।

अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री महतले बताए ।