FLASH NEWS

वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालको उत्कृष्ट जित


नेपाल आवाज १० फाल्गुन २०८०, बिहीबार २२:३८ मा प्रकाशित १४९५ पाठक संख्या

काठमाडौं – स्टार फरवार्ड सावित्रा भण्डारी चम्किएको खेलमा नेपालले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा उत्कृष्ट जित निकालेको छ ।


बिहीबार जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियमा भएको खेलमा सावित्रा एक्लैले ५ गोल गरेपछि समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५–० को प्रभावशाली जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा सावित्राले नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६ औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिईन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथों गोल गरिन् ।

दोस्रो हाफमा नेपालले गोलका पर्याप्त अवसर सिर्जना गरेपनि सफल हुन सकेन । खेलको ८० औं मिनेटमा सावित्राले पाँचौं गोल गरिन् । प्रितीको थ्रु-पासमा साम्बाले खेलमा रन बनाउँदै उनले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गर्दै नेपाललाई ५–० को उत्कृष्ट जित दिलाईन् ।

नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ । नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्ने छ ।

प्यालेस्टाइनले आज आफ्नो दोस्रो खेलमा सिरिया विरुद्ध खेल्नेछ । पहिलो खेलमा प्यालेस्टाइनले इराक माथि ३-० को जित निकालेको थियो ।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।