FLASH NEWS

त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो ! दुर्घटनास्थलबाट ३९ जनाको उद्धार


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार ०९:४१ मा प्रकाशित २१०१ पाठक संख्या

धादिङ – कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने ३९ जनाको उद्धार गरिएको छ ।


आज बिहान ५ बजेको समयमा सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका– ५ घाटबेशी नयाँ पुल छेउबाट त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा १ जना महिला, ६ जना पुरुष रहेका छन् ।

बस राजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको छ । दुर्घटनास्थलबाट  ३९ जना घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्धार गरेका छन् ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । उक्त स्थानमा अहिले विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोलीले अन्य यात्रुको खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए ।

यसका साथै ईलाका प्रहरी कार्यालय गजुरीका डिएसपी मदन बहादुर कुँवर, जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम कुमार के.सीको प्रहरी टोली दुर्घटनास्थलमा छन् ।

एसपी गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईतेहरु र मृतकको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीले जनाइएको छ ।