काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार राष्ट्रिय सभा गृहमा ‘धाः बाजा वादन प्रतियोगिता’ सम्पन्न गरेको छ । महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ अन्तर्गत सार्वजनिक सूचनाबाट सहभागिता आव्हान गरेर प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा २२ वटा समूह सहभागी भएका थिए । जसमध्ये ङत तुलाधर समिति, नरदेवीले प्रथम स्थान हासिल गर्यो । यस्तै कसाः तः धं गुथिले दोस्रो र ठँहिटि मानन्धर गुथिले तेस्रो स्थान प्राप्त गरे । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगदसहित चाँदीको धा बाजा प्रदान गरियो । अन्य १९ समूहलाई सान्त्वाना स्वरुप हरेक समूहलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
पुरस्कार वितरण गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यो प्रतियोगिता कसैलाई विजय गराउन वा कसैलाई हारको अनुभूति गराउनका लागि होइन । जोजति सहभागी भएका छन् । परम्परागत बाजा संरक्षणमा सबैको समान योगदान छ । यसअर्थमा प्रतियोगितामा सहभागी सबै विजेता हुनुहुन्छ । यसरी महसुस गर्नुहोला ।’
उहाँले, संस्कृति र परम्पराको वैज्ञानिक, सामाजिक, पारिवारिक तथा व्यक्तित्व एवं नेतृत्व विकासको पक्ष जोगाउन युवाहरुको सक्रिय सहभागिताको अपेक्षा गरे ।
त्यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, अमूर्त सम्पदाको अमुल्य ऐश्वर्य बचाउन महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । ‘प्रयास र अगुवाई महानगरपालिकाको हुनेछ । यसमा खल, पुच, गुथिहरुको पृष्ठपोषण र सहभागिता चाहिन्छ ।’ संगतको भनाइ थियो ।
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले, नेपाल मण्डलभित्रका परम्परागत बाद्य सामग्री र वाद्य शैलीको पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्तै ढाँचाका कार्यक्रमहरु वडा तहमा पनि भइरहेका छन् । केन्द्र स्तरमा पनि नियमित चलिरहेको छ ।
विभागका सहायक निर्देशक एवं सांस्कृतिक महानगर कार्यक्रमका फोकल पर्सन धर्म मुनिकारका अनुसार यसपछि १५ बर्ष उमेर समूहसम्मका बालबालिकाका बिचमा नेवा संस्कृतिक र प्रकृतिसँग सम्बन्धित गायन प्रतियोगिता हुनेछ । प्रतियोगितामा २५ वटा गीत समावेश हुनेछन् । २५ वटाभन्दा धेरै गीत भएमा अडिसनबाट छानिनेछ ।
मुनिकारका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५५ हजार ५५५ रुपैयाँ र चाँदीको माइक, दोस्रो हुनेलाई ३३ हजार ३३३ रुपैयाँ र चाँदीको माइक र तेस्रो हुनेलाई २२ हजार २२२ रुपैयाँ र चाँदीको माइकबाट पुरस्कृत गरिनेछ । सहभागी सबैलाई सान्त्वानास्वरुप १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
के हो धाः बाजा ? कपिलबस्तुमा राजा शुद्धोदनका पालामा मनाइने ‘साल धान्निका’ पर्वमा धाः बाजा बजाउने गरिएको थियो । त्यहाँबाट शाक्यहरु काठमाडौँ आउँदा आफ्ना संस्कृति सँगै लिएर आउने क्रममा धाः बाजा पनि लिएर आए ।
गुँला बाजा व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यका अनुसार लिच्छवीकालमा यसलाई धाः बाजा नै भन्ने गरिन्थ्यो । मल्ल कालमा आएर गुँला महिना सुरु गर्न थालिएपछि यसलाई गुँला बाजा भन्न थालियो । काठमाडौँमा गुँला भनिए पनि ललितपुर र भक्तपुरमा अहिले पनि धा बाजा नै भन्ने गरिन्छ । बाजा वौद्ध धर्मसँग सम्बन्धित भएकोले शाक्यसहित उपत्यकाका नेवार समुदायमा बौद्ध धर्मावलम्बीहरुले यो बाजा बजाउने गरेका छन् ।
शाक्यकाअनुसार काठको ढुङ्ग्रोमा छाला मोडेर बनाइने यो बाजाको दाहिनेतर्फ हातले र देब्रेतर्फ काठको गजोले बजाइन्छ । यो देव वाजा हो । यसलाई अरुजस्तो सामान्य समयमा बजाइँदैन, बजाउन मिल्दैन । राखेको ठाउँबाट निकाल्दासमेत पूजा गरेर निकाल्नु पर्ने चलन छ । यसलाई पञ्चदान, सम्यकदान, वहा पूजाजस्ता ठूला र अधिक महत्व भएका अवसरमा मात्र बजाउने परम्परा छ ।
धाः बाजा ७ वटा तालमा बजाइन्छ । ४ मात्रामा चोँ ताल, ७ मात्रामा पडताल, ७ मात्रामा जतिताल, ८ मात्रामा लताल, १४ मात्रामा ग्रताल, १० मात्रामा अस्त्राताल र ६ मात्रामा पलेमा ताल बजाइन्छ । शाक्यकाअनुसार यी सबै ताललाई एकैपटक बजाउने ग्वारा धा बाजाको मुख्य विशेषता हो । ग्वारामा पनि भगवान ग्वारा, नित्यनाथ ग्वारा, श्रीकृष्ण ग्वाराजस्ता विभिन्न देवताको स्तुतिसँग सम्बन्धित छन् ।