FLASH NEWS

तीन महिनापछि मृत भेटिएका सशस्त्र जवानकाे शव परिवारले बुझे


नेपाल आवाज ८ चैत्र २०७९, बुधबार ०९:१४ मा प्रकाशित २०८३ पाठक संख्या

लमजुङ ८ चैत । मर्स्याङ्दी नदीमा खसेर हराइ रहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् ।


गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत बेपत्ता थिए । बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए ।

सशस्त्र  प्रहरी कार्यालयका प्रमुख मानबहादुर शाहिका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवा छेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । उनको शव परिवारले सनाखत गरेको उनले बताए ।