FLASH NEWS

हर्क साम्पाङ र बालेनबीच भेटवार्ता


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार १८:१४ मा प्रकाशित २६२९ पाठक संख्या

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको हो ।


बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ । भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए ।

उनीहरूले एकअर्कालाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए । सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ । उनीहरुको भेटवार्ताको तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रियाका साथमा तस्विर सेयर गरिरहेका छन् ।

मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर यतिबेला संघीय राजधानी काठमाडौंमा छन् । उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि सागै आएका छन् ।

आगामी आर्थिक बर्षको बजेटमा धरानको प्राथमिकतामा रहेको खानेपानीको लागी बजेटसँगै अन्य विभिन्न योजनाहरु लिएर टोली संघीय राजनधानी आएका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका उनले शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।

प्रधानमन्त्रीसँग साम्पाङले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना बुझाएका छन् । यस्तै उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई पनि भेट गरेर मागपत्र बुझाएका छन् ।