FLASH NEWS

तरकारी सस्तिए पनि उपभोक्ताले पाएनन् राहत


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार ०७:३४ मा प्रकाशित १८०७ पाठक संख्या

काठमाडौँ । पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ ।


गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन ।

अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार स्थानीय काउली, मूला, साग, गाजरलगायतका तरकारीको मूल्य भने क्रमशः बढ्दै गएको छ । ती तरकारीको मौसम करिब सकिएकाले पनि क्रमशः मूल्य बढ्न थालेको समितिले जनाएको छ ।

समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार चैतको तेस्रो सातासम्म थोकमै प्रतिकेजी ८५र९० रुपियाँमा कारोबार भएको गोलभेँडा अहिले घटेर थोकमा प्रतिकेजी ५५ रुपियाँमा झरेको छ । यस्तै घिउसिमी, तनेबोडी, हरियो फर्सी, बन्दालगायतका तरकारी पनि सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सानेपा घर बताउने बिनु अमात्यले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गरिन् ।“गोलभेँडा प्रतिकेजी १०० रुपियाँमा किन्नुपर्छ तर कालीमाटीमा त ११० रुपियाँमा एक धार्नी आयो । बन्दा, फर्सी, घिउसिमी, तनेबोडी, भिन्डी, भान्टा पनि आधा सस्तो रहेछ,” उनले आफ्नो अनुभव सुनाइन् ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी भएको पाएको अनुभव तरकारी किन्दै गरेकी गङ्गामाया अधिकारीले सुनाइन् ।

कालीमाटी बजारमा पनि धेरै किन्नेलाई सस्तो हो तर थोरै किन्नेलाई कालीमाटीमै पनि महँगो छ । सरकारका अनुगमन गर्ने निकायले के गरेर बसेका छन् कुन्नि रु एउटै बजारभित्र मूल्यमा यति धेरै अन्तर हुँदा भनेर उले प्रश्न गरिन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।