FLASH NEWS

गृहमन्त्रीको प्रतिवद्धता: नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १५:२२ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्समा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्।


बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको बताए।

गृहमन्त्री श्रेष्ठले भने,‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने जुन प्रक्रिया देखिएको छ, यसमा कडा कारबाही गर्ने तहमा हामी छौँ। यो राज्यबिरुद्धको अपराध हो। भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्न सकेनौँ भने समृद्धिको नारा पूरा हुँदैन। भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ। आफ्नो देशको नागरिक अनागरिक बनाइ विदेशमा पठाइ पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो, यसलाई छुट दिने कुरा हुन सक्दैन। कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन। दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ।’

नेकपा एकीकृत समाजवादीको तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको थियो।