FLASH NEWS

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले दिनरात काम गर्छः अर्थमन्त्री महत


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार २२:०४ मा प्रकाशित १०२१ पाठक संख्या

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन्।


सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्।

कांग्रेस प्रवक्तासमेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनी सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाइ थियो।

मन्त्री महतले भने, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन। मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन्। मैले फेरि पनि भने– कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्‍यो। इमान्दार हुनुपर्‍यो। रातदिन काम गर्नु पर्‍यो। त्यो काममा हामी लाग्छौँ। त्यसो भएपछि परिणाम आउन थाल्दछ। गर्ने कुरा यिनै हुन्। गरिएको कुरा पूरा गर्नु पर्‍यो, गर्छौं।’