FLASH NEWS

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार ०८:०१ मा प्रकाशित १६६९ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो ।

कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्नेछ भने केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिनेछ ।

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोही केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार छन् ।