FLASH NEWS

रेशमको आममाफीबिरुद्ध पीडितको रिट निवेदन


नेपाल आवाज १४ जेष्ठ २०८०, आईतवार १७:५० मा प्रकाशित १४४७ पाठक संख्या

काठमाडौं – टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई आममाफी दिने निर्णयबिरुद्ध उक्त घटनामा मारिएका प्रहरी अधिकारीकी श्रीमतीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी छन्।


मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमलाई आममाफी दिन सिफारिस गरी राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। सोहीबिरुद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेश गरेकी हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका मौकामा रेशम चौधरीलाई आममाफी दिने गरी तयारी भइरहेको छ।

रेशमलाई माफी नदिन पूर्वप्रहरी कर्मचारीको माग

पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले  अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । मानवअधिकार उल्लङ्घनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य नहुने उनीहरूले बताएका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र लेख्दै परिषद्ले  चौधरीलाई आम माफी दिने गरी सिफारिस प्रक्रिया अघि बढाउँदा फौजदारी अपराध गरेको पुष्टि भएर सर्वोच्च अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका अपराधीहरूको मनोबल बढ्ने र अपराध नियन्त्रण गर्न आफ्नो ज्यान आहुति गर्न पछि नपर्ने बहालवाला तथा पूर्वप्रहरी र तिनका परिवार सहित सुरक्षा निकायका अन्य कर्मचारीहरूको मनोबल कमजोर हुने जिकिर गरेको छ ।