आज: | Mon, 26, Feb, 2024
FLASH NEWS

रेशम चौधरीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार १८:३३ मा प्रकाशित ३२३५ पाठक संख्या

काठमाडौं – रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको हो ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको हो ।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै घटनमा मृत्यु भएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।