FLASH NEWS

‘प्रचण्ड’ भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली


नेपाल आवाज २७ जेष्ठ २०८०, शनिबार १७:३९ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो ।


शनिबार काठमाडौँमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको उल्लेख गरे ।

ओलीले भने, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिबद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगिसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पु¥याएका थियौँ । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पु¥याएका थियौँ । त्यो घटेर २ भन्दा तल आइसक्यो । अस्ति हाम्रा नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको ? आफ्नो भूमिको बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा राँगा ल्याए भनेर त्यही पनि राँगा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरूले त कुनै कुरै चलाउन सक्नुहुन्न ।’

ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका गरेको संयुक्त चेकजाँच पोस्टको कुरा सबै आफ्नो पालामा भएको पनि बताए । उनले भने, ‘जति पनि त्यहाँ कुरा भएको छ, त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरू ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौँ । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । नयाँ कुरै होइन । अनि के गरेर आउनु भयो त ?’

उनले दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिएको पनि आरोप लगाए । ओलीले भने, ‘मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदीरहेको नदीमै बाँध नबाँधीकन ४८० मेगावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ भनेर मैले निर्णय गरेको थिए । यो त अहिले किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दुर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्ता यस्ता सरकार बनेका छन् । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन ।’

उनले जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न नसक्ने बताउँदै भने, ‘विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भएको देशको दुर्भाग्य हो । विकासको योजना छैन, सोच छैन । अव यिनीहरूले के देख्छन् भन्दा, उनीहरूलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध एमाले अगाडि बढ्यो । म भन्न चाहन्छु–एमालेलाई कहीँ कतै कसैले कुनै हिसाबले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन ।’

अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताए । उनले कर्मचारीहरूलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न आग्रह गर्दै  जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।