FLASH NEWS

मेरो सोच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएँ : अनिलकेशरी शाह


नेपाल आवाज ७ असार २०८०, बिहीबार १४:१८ मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले आफ्नो सोच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्।


बिहीबार पार्टी स्थापना दिवसका अवसरमा विहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा शाहले ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासको उद्धेश्य लिएर हिँडेको र रास्वपाको पनि त्यही उद्धेश्य रहेकाले पार्टी प्रवेश गरेको बताए।

‘बैंकिङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो । बहसपछि मलाई लाग्यो, उहाँहरुको सोच र मेरो सोच ठ्याक्कै मिल्यो । त्यसैले रास्वपामा जोडिएँ,’ उनले भने ।

उनले आउने दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको अंग बन्न चाहन्छु, चुनाव लड्न चाहन्छु या पार्टीमा कसरी हुन्छ सहभागी भएर अगाडि बढ्न चाहन्छु भन्नेहरूलाई चाहिँ नेतृत्व केहो? नेतृत्व कसरी विकास गर्ने? नेतृत्वको विकासबाट देशमा सकारात्मक प्रभाव कसरी पार्ने हो? भन्ने बारेमा सिकाइने बताए।

उनले देशको सबैभन्दा ठूलो पीडा अर्थतन्त्रको रहेको र त्यसको डाक्टर नै रास्वपामा भएको पनि बताए। अझै धेरै मानिसहरू पार्टीमा जोडिनुपर्ने उनको भनाइ थियो।

शाहले आफू कहिल्यै पार्टीमा जोडिन्छु भन्ने नसोचेको पनि बताए।

‘मैले कहिल्यै सोचेको थिइनँ। नेतृत्वको विकास गर्न नेपालीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हिँडेको थिएँ? यहाँ चाहिँ जुन मेरो सिप छ त्यसलाई प्रयोग गर्न सक्छु भन्ने लागेको भएर म यहाँ आएको हुँ,’ उनले भने, ‘केही राम्रो गरेँ भने वाहवाह भनिदिनुहोला। नराम्रो गरेँ भने सचेत गरिदिनुहोला।’