FLASH NEWS

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, पाँच जानाको मृत्यु


नेपाल आवाज ८ असार २०८०, शुक्रबार ११:१० मा प्रकाशित २१३१ पाठक संख्या

गोरखा – गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भएको छ। बिहेको टिकाटालो गरेर माइतीपट्टीबाट फर्किएको जीप दुर्घटनामा परेको हो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।


शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजे दुर्घटना भएको हो ।

बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी दुर्घटनामा परेको हो ।बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी नायब निरीक्षक जीवलाल सुवेदीको कमाण्डमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)लिलाराज लामिछानेको कमाण्डमा २० जनाको टोली उद्धारका लागि परिचालित भएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी,विपद व्यवस्थापन समिति र स्थानीयवासीले पनि सघाएका थिए ।