FLASH NEWS

‘ड्रागन बोट रेस’: चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता


नेपाल आवाज ९ असार २०८०, शनिबार २०:०९ मा प्रकाशित २०११ पाठक संख्या

पोखरा – पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।


नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो ।

यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो । ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एशोसिइएसन (एनआरसीए) चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक–एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ ।