FLASH NEWS

देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको छ : केपी ओली


नेपाल आवाज १४ असार २०८०, बिहीबार ११:१५ मा प्रकाशित १२६७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको बताएका छन् ।


बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएकोमा चिन्ता बढिरहेको बताए ।

‘आज गुरु कुट्ने संस्कृति बढेको छ, यो बडा दुखद कुरा हो यो’, अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरुदेवो भवः भन्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेको बताए ।

उनले सरकारले त्यस्तैलाई प्रोत्साहन गर्ने गरेको पनि बताए । ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् । नाम विद्यार्थीको हुन्छ तर ती विद्यार्थी होइनन् । बाहिर सडकका औजार हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्दछ । संस्कृति, शिष्टता र विनम्रता अरूका लागि होइन ।’

ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण र प्रोत्साहन गरेर सरकारले गलत गरेको बताए।

केही साताअघि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा सरकारले फिर्ता लिएको थियो ।