FLASH NEWS

दिउँसोदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड रातभर पनि नखुल्ने


नेपाल आवाज १४ असार २०८०, बिहीबार २२:२५ मा प्रकाशित २३३५ पाठक संख्या

मुग्लिन – सुक्खा पहिरोका कारण आज दिउँसोदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड रातभर पनि नखुल्ने भएको छ ।


पहिरोको जोखिमलाई मध्यनजर गर्दै भोलि विहान मात्रै पहिरो पन्छाउने काम गरिने भएपछि रातभर सडक नखुल्ने भएको हो ।

इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउसो १ः२० बजेदेखि सडक बन्द भएको थियो ।

दिउँसो केहीबेर पहिरो पन्छाउने काम भए पनि पहिरो खस्ने क्रम नरोकिएपछि सडक पूर्ण रुपमा अबरुद्ध रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।

उनका अनुसार अहिलेपनि सुख्खा पहिरो खसिरहेको छ । आजका लागि पहिरो पन्छाउने काम नहुने र भोलि विहान अवस्था हेरेर पन्छाउने काम गरिने तामाङले बताए ।

पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका छन्। प्रहरी चौकी सोमेश्वर माडी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा लाग्दा घाइते भएका हुन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल लागिएको छ ।

सडक अवरूद्ध भएसँगै अहिले सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा परेका छन् ।

काठमाडौंबाट चितवनतर्फ आएका सवारीसाधन मुग्लिन -कुरिनटारलगायत ठाउँमा रोकिएका छन् । पृथ्वी राजमार्ग हुँदै काठमाडौंतर्फ आउने सवारीसाधनलाई आँबूखैरेनीमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे आसपासको क्षेत्रमा रोकिएको छ ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ  सवारीसाधन अवतजावत गर्छन् ।