FLASH NEWS

प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले बबन्डर मच्चाउन खोजे : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज २० असार २०८०, बुधबार १५:०१ मा प्रकाशित १४५३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पुस्तक विमोचनमा सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।


पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबन्डर मच्चाउन खोजिएको बताएका छन् ।

आफूले पुस्तक विमोचन कार्यक्रममा सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको प्रधानमन्त्री प्रचण्डले प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बेलुनरूपी बबन्डर चाँडै फुट्ने पनि दाबी गरे । यस प्रकरणले विपक्षीमा पूर्वाग्रह देखिएको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डको भनाइ थियो ।