FLASH NEWS

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत: काँग्रेस सांसद


नेपाल आवाज २४ असार २०८०, आईतवार १७:३६ मा प्रकाशित १३०९ पाठक संख्या

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् ।


आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताए ।

उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउनेगरी बोल्न नमिल्ने बताए । त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए । उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए ।

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए ।

उनले भने – ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो ।’

‘हामी त अपेक्षा के गर्छौं भने हरेक कमजोरीहरुलाई सुधार गर्दै कुनैपनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त ? पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच/पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ । हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो । त्यसबेलै राजीनामा हुन्थ्यो होला । जनताद्वारा निर्वाचित संसदले पाँच वर्ष काम गर्ने भनेको बिचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला ।’

‘राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन । विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न खोजेको कुरा प्रतिपक्ष दलको गल्ती थियो । अब समाधानमा पुग्छ । दुई, तीन दिन लगाएर अन्तत: फेरिपनि प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल निरन्तर रहनुहुनेछ । प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी कित्तामा रहेका जति साथीहरु संसद अवरुद्ध गर्न उभिनुभएको थियो उहाँहरु अब दुई दिन भित्रैमा शान्तपूर्वक बसेर संसद अगाडी बढेको हामीले देख्नेछौँ ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताए। उनले प्रधानमन्त्रीको राजीनामा माग गरेको एमाले पुन: पछि हटेको बताउदै  एमालले परिपक्व राजनीति नगरेको उनको तर्क थियो ।

उनले भने – ‘एमाले सत्तामा जान नपाएर छट्पटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ । फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ । फेरि थचक्क बस्छ । अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ । त्यसैले यो आक्रमण उहाँमाथिको भन्दापनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो ।’

काँग्रेस सांसद राजन केसीले संसदलाई बन्द गर्नु जनताको मुख बन्द गर्नुभएको टिप्पणी गरे। संसदलाई जुनसुकै कुरामा बन्द गर्नु एमालेको रणनीति नै भएको उनले बताए ।

उनले भने – ‘व्यवस्थापिका सांसद भनेको जनतासँग प्रत्यक्ष वार्ता गर्ने थलो पनि हो । समस्या समाधान गर्ने थलो पनि हो । त्यसलाई बन्द गर्नु भनेको जनताको मुख बन्द गर्नु हो । उहाँहरुको रणनीति कुनैपनि कुरामा संसद बन्द गरिहाल्ने यो ठिक होइन । प्रतिपक्षले सोध्न सक्छ, तर सोध्नका लागि बोल्नै दिन्न । संसद नै बन्द गर्ने ठिक होइन ।’ उनले निरन्तर संसद बैठक अवरुद्ध गर्नु नहुने बताए ।