FLASH NEWS

मनाङ एयरकाे हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव भेटियो (नामसहित)


नेपाल आवाज २६ असार २०८०, मंगलवार १४:५२ मा प्रकाशित १८८५ पाठक संख्या

काठमाडौं – सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ।


दुर्घटनास्थलबाट ६ जनाकै शव निकालिएको घटनास्थल पुगेका जीवन विकले जानकारी दिए। उनले भने,’दुर्घटनास्थलबाट ६ जनाको शव भेटिएको छ। शव कता पठाउने भन्नेबारे छलफल भइरहेको छ।’

आज (मंगलबार) सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका- ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ ।

हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । जसमा ३ महिला र २ पुरुष रहेका छन्।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार अहिले सबै शव संकलन भइसकेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको उनले बताए ।