FLASH NEWS

फार्मेसी अधिकृत मृत्यु प्रकरण: चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी


नेपाल आवाज २९ असार २०८०, शुक्रबार २१:१५ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – शुक्रबार मृत फेला परेका फार्मेसी अधिकृत अमृत पोखरेलकी श्रीमतीले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकी छन्।


मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत पोखरेलकी श्रीमती मनिका कोइरालाले प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र फार्मेसी सहायक कृष्ण पौडेलविरुद्ध किटानी जाहेरी दिएकी हुन्।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर महाराजगन्ज वृत्तको हिरासतमा राखेको छ। पोखरेलको सुसाइड नोटमा आत्माहत्या गर्न बाध्य पारेको भन्ने उल्लेख रहेको भेटिएपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको थियो। तर जाहेरी चारजनाविरुद्ध परेपछि अन्यलाई छाडेर उनीहरुलाई हिरासतमा राखिएको हो।

फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै उनीमाथि पनि प्रशासनले छानबिन गरिरहेको थियो। बिहीबार अस्पताल प्रशासनले बनाएको छानबिन समितिले उनीसँग स्पष्टिकरण सोधेको थियो। उनले सुसाइड नोटमा पनि सोही घटनालाई जोडेका छन्।

उक्त घटनालाई लिएर आफूलाई फसाउन खोजेको गुनासो उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए।

सोही आरोपका कारण उनलाई जिम्मेवारीबाट हटाइएको थियो। अर्घाखाँची घर भएका पोखरेल शुक्रबार अस्पतालको दुई तलामाथी झुण्डिएको अवस्थामा फेला परेका थिए।

तर पोखरेलको शव पोष्टमार्टम गृहमा लगिएको छ। अहिले पनि आफन्त र त्यहाँका कर्मचारीले शव शुझ्न मानिरहेका छैनन्। प्रहरीका अनुसार विहानैदेखि सेन्टरमा तनावपूर्ण अवस्था छ।

उनीहरुले घटनाको निस्पक्ष छानबिनको माग गरेका छन्। पोखरेलकी श्रीमती कोइराला पनि सोही अस्पतालकी नर्स हुन्।

सुसाइड नोटमा उल्लेख भएका विषयमा छानबिन हुनु पर्ने उनीहरुको माग छ। सुसाइड नोटमा छानबिन भइरहेका विषयहरु उल्लेख रहेको र आफूलाई फसाएर केही व्यक्ति जोगिन खोजेको उल्लेख रहेको प्रहरी अधिकारीले बताए।

आफन्तले यसमा संलग्नलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन माग गरेका छन्। जाहेरी परे र आवश्यक देखिए त्यसमा पनि अनुसन्धान हुने प्रहरीको जवाफ छ।

काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले यो घटना महाराजगन्ज वृत्तले अनुसन्धान गरिरहेको बताए।