FLASH NEWS

रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग


नेपाल आवाज ३१ असार २०८०, आईतवार १८:०२ मा प्रकाशित १२५५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्मा दिएको अभिव्यत्तिप्रति नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका छन्। सांसद श्रेष्ठले संसदीय मान्यताविपरितको भाषा संसद्मा प्रयोग भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन उनले माग गरेका छन्।


प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा सांसद बजगाईंले आपत्ति जनाएका हुन्।

‘सुमना श्रेष्ठज्यूले बहुमतको आधारमा पास गर्ने भए, गुण्डाशैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मान्यताविपरितको भाषा भएको कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,’ सांसद बजगाईंले भने।

यसअघि आजै बसेको बैठकमा सांसद श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनले राजनीतिको नाममा जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई बचाउन यो विधेयक ल्याइएको दाबी गरिन्।

‘इँटाभट्टामा मान्छे जिउँदै जलाउनेलाई बचाउन ल्याएको होरु एम्बुसलेन्सबाट थुतेर मान्छे मार्नेलाई बचाउन हो?’, उनले सोधिन्, ‘भाला रोपेर मान्छे मार्नेलाई बचाउन होरु यो विधेयक नेपालीको हितमा  छैन।’

उनले यो विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको पनि बताइन्। श्रेष्ठले संसद्‍ले बहुमतको आधारमा यो विधेयक पारित गरे यसविरुद्ध अदालत जान आह्वान गरिन्।

‘यो शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। बुँदागत रुपमा भन्नुपर्दा संविधानको धारा १, धारा २१ र धारा ४६ विपरीत छ। संविधानविपरीतको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु’, उनले भनिन्, ‘यो कानुनी सिद्धान्तविपरीत, मुलुकी अपराध संहिता दफा ४१ विपरीत पनि छ। यो सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत छ। हामी जननिर्वाचित सांसदहरु छौँ।’

उनले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने पनि बताइन्।

सांसद बजगाईंले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरले अभिव्यक्ति हेरेर निर्णय लिने बताएका छ्न।

‘मान्य सदस्यले उठाउनुभएको कुराप्रति ध्यानाकर्षण भएको छ। मान्य सदस्यको अभिव्यक्ति के आएको छ त्यसलाई हेरेर हामी निर्णय गर्नेछौं,’ सभामुख घिमिरेले भने।