FLASH NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार २२:२५ मा प्रकाशित १३८१ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद गरेको छ ।


राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद गरेको छ। सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो ।

अनुसन्धान विभागका एक अधिकारीका अनुसार मोटरसाइकल र स्कुटरको पार्ट घोषणा गरेर सुनका ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त मोटर पार्ट्सको हिजै जाँच पास गरेको थियो। भन्सार कार्यालयका कर्मचारीले ठूलो परिणामको सुन जडित मोटरका पार्ट्सको कसरी जाँच पास गर्‍यो भन्ने विषय रहस्यमय बनेको छ।

‘विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ,’ छापा मार्न संलग्न स्रोतले भन्यो,’भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ ।’

सुन ठूलो परिणाममा भएको र त्यसको तौल यकिन हुन सकेको छैन । स्रोतका अनुसार उक्त परिणाम ८० देखि १०० किलो हाराहारीमा रहेको छ। राजस्व अनुसन्धान विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ। सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो ।

‘अहिले मुचुल्का तयार हुँदैछ । सुन धेरै भएकाले परिमाण खुलिसकेको छैन, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’,विस्तृत पछि थाहा हुन्छ’, स्रोतले भन्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे प्यासिफिकको उडानमार्फत हङकङबाट काठमाडौं आएको थियो । सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।