FLASH NEWS

सुन तस्करी प्रकरण: भन्सार जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरिँदै


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १०:३३ मा प्रकाशित १८३१ पाठक संख्या

काठमाडौं – करिब एक सय केजी अर्थात एक क्विन्टल बराबरको सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ ।


भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जानकारी दिए ।

‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ र थप दुई जनासमेत रहेका छन् । अन्य २ जनाको नाम खुलेको छैन ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको हो। सुन हङकङबाट ल्याइएको खुलेको ढुङ्गानाले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने  ढुङ्गानाले बताए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।

बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ । बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने भन्दै यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । यसअघि २०७४ भदौमा चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन ठमेलमा समातिएको थियो । केही दिनअघि मात्रै विद्युतीय चुरोटमा सुन लुकाएर आएको अवस्थामा विमानस्थलमा पक्राउ गरिएको थियो । सो घटना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । पछिल्ला दिनमा नेपालमा सुन तस्करी बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस् :

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै,एजेन्टसहित ६ जना पक्राउ

सुन बरामद प्रकरण: हङकङबाट १६० वटा ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद