FLASH NEWS

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै,एजेन्टसहित ६ जना पक्राउ


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार ०९:०१ मा प्रकाशित ११२३ पाठक संख्या

काठमाडौं – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।


विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।

सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने  ढुङ्गानाले बताए ।

सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ ।  दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो । उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको थियो ।

सुनलाई मोटरसाइकल र स्कुटरको ब्रेक शु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो। सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ। बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने भन्दै यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । यसअघि २०७४ भदौमा चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन ठमेलमा समातिएको थियो । केही दिनअघि मात्रै विद्युतीय चुरोटमा सुन लुकाएर आएको अवस्थामा विमानस्थलमा पक्राउ गरिएको थियो । सो घटना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । पछिल्ला दिनमा नेपालमा सुन तस्करी बढ्दै गएको छ ।

यो पनि पढ्नुहोस् : सुन बरामद प्रकरण: हङकङबाट १६० वटा ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद