FLASH NEWS

सुन तस्करी प्रकरण: भन्सार विभागले छानबिन समिति बनायो


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार ११:३१ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।


विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए।

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।

त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको करिब एक सय केजी अर्थात एक क्विन्टल बराबरको अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको मोटरसाइकल र स्कुटरको ब्रेक शु र दाह्री काट्ने रेजरमा राखेर उक्त सुन ल्याइएको हो।

विभागले अहिलेसम्म यसमा संलग्न दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ र थप दुई जनासमेत पक्राउ गरिसकेको छ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने भन्दै यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ।

यो पनि पढ्नुहोस् : सुन तस्करी प्रकरण: भन्सार जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरिँदै

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै,एजेन्टसहित ६ जना पक्राउ

सुन बरामद प्रकरण: हङकङबाट १६० वटा ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद