FLASH NEWS

जनकपुरधाम रेलवे स्टेशनमा एक महिलाको २ लाख बढी रकम लुटियो


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १०:३० मा प्रकाशित १५०७ पाठक संख्या

जनकपुरधाम – जनकपुरधाम रेल्वे स्टेशनमा एक महिलाको लाखौं रुपैयाँ र गरगहनासहितका सामग्री लुटिएको छ ।


प्राप्त जानकारी अनुसार आइतबार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठालकी सुनिताकुमारी यादवकाे लुटेरा समूहले २ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका हुन् ।

घर जाने क्रममा रेल्वे स्टेशनमा उनी रेलमा चढ्नै बित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको पीडित महिलाले दाबी गरेकी छिन् ।

जनकपुरधामस्थित राजदेवी मन्दिर नजिकै रहेको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।

गाउँमा जग्गा किनेको र सोही जग्गा धनीलाई पैसा दिन श्रीमान्ले विदेशबाट पठाएको पैसा झिकेर घर आउने क्रममा पैसा लुटिएको उनले बताएकी छिन् ।

रेलवे स्टेशनमा सिसिटीभी जडान नभएका कारण लुटेरा समूहको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । तर, घटनाको छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

भीआईपी र अतिथि सत्कारमा लाखौं खर्चने नेपाल रेलवे जनकपुरधाम रेलवे स्टेशनमा सिसिटीभी नलगाएका कारण सानातिना चोरीकाे घटना हुँदै आएको थियो । तर, आइतबार ठूलै लुटपाटको घटना हुनु रेलवे पदाधिकारीको कमजोरी रहेको स्थानीयको भनाइ छ ।

यसअघि पनि जयनगरबाट जनकपुरधाम आउँने यस रेलमा दैनिक गुटखा र कपडा तस्करी हुँदा समेत रेल्वे प्रशासन र सुरक्षाकर्मी मुकदर्शक बन्दै आएको स्थानीयको आरोप छ ।