FLASH NEWS

कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन तयार छौँ: हिक्मत कार्की


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार ११:३५ मा प्रकाशित १०४५ पाठक संख्या

विराटनगर – नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि आफूहरु तयार रहेको बताएका छन् ।


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले बाधक नबन्ने उल्लेख गर्दै यस्तो बताएका हुन्।

‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन’, हिक्मतले भने ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली पाएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै छन् । तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ ।

बिहिबार सर्वोच्च अदालतले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गर्दै साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ।

कोशी प्रदेशसभामा ९३ जना सांसद रहेकोमा सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ ।