FLASH NEWS

माओवादीसँगको एकता वास्तविक थिएन, तेल र पानी जस्तो रह्यो : केपी शर्मा ओली


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १८:५४ मा प्रकाशित ११५३ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीसँगको एकता वास्तविक नभएको बताएका छन् ।


नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२ औँ बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले माओवादीसँग एमालेको एकता तेल र पानी जस्तो रहेको बताएका हुन् । उनले नेकपा माओवादी केन्द्रसँग राम्रोसँग एकता गर्नै नपाई सहयात्रा टुंगिएको बताए।

नेकपा निर्माणपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको आरोप लगाउदै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’

एकतापछि पनि प्रचण्डले एक पैसो हिसाब किताब पार्टी केन्द्रीय कार्यालयमा नबुझाएको ओलीले बताए।

‘प्रचण्डले आफ्नो रकम कहिल्यै पार्टीमा बुझाएनन्। उनले उल्टै एमालेको रकम खाए पिए। एमालेमा एक पैसो पनि दाखिला गरेनन्’, ओलीले भने, ‘उनले एकतापछि बैंकको हिसाब पनि कहिल्यै देखाएनन्। उनको उद्धेश्य एमाले कब्जा गर्ने मात्रै थियो। त्यसैले उनी खाली आएर एमालेको खाएर गए।’

अध्यक्ष ओलीले बहुमतको सरकार बनाउन जरुरी रहेको बताए। उनले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरे। ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए ।

अध्यक्ष ओलीले भने, ‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ। हामी जेलमा हुँदा, जित्नेछौं एक दिन भनेर गीत गाउँथ्यौं । अहिले हामी भन्न सक्छौं, पटकपटक जितेका छौं, फेरि जित्नेछौं।’

विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि जित्ने विश्वास समेत उनले व्यक्त गरे ।अहिले चुनौती भए पनि फेरि जित्ने ओलीले बताए ।