FLASH NEWS

अंशको विषयलाई लिएर विवाद हुँदा एक महिलाले गरिन् सौताको हत्या, डेढ महिनापछि भेटियो कंकालका टुक्रा !


नेपाल आवाज १५ श्रावण २०८०, सोमबार १६:०४ मा प्रकाशित १३५१ पाठक संख्या

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्कामा एक महिलाले सौताको हत्या गरेकी छन्। जनकबहादुर रावलको मृत्युपछि जेठी श्रीमती गोमाले कान्छी श्रीमती मञ्जु रावलको हत्या गरेको खुलेको हो।


गत जेठ २५ गतेदेखि बेपत्ता ३३ वर्षीया मञ्जुको (कंकालहरु) टुक्रा मात्रै फेला परेको हो। उनको हत्यामा जेठी सौता गोमा र उनका आफन्तको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुका श्रीमान् जनकको २०७७ चैत ४ गते मृत्यु भएको थियो। जनकको मृत्यु भएपछि दुवै श्रीमती गोमा रावल र मञ्जु रावलको सहमतीमा लम्कीचुहा नगरपालिका ४ को वडा कार्यालयमा २०७७ चैत २२ गते मृत्यु दर्ता भएको थियो।

तर पछि सोही विषयमा उनीहरुको विवाद सुरु भएको थियो। मृत्यु दर्तापछि जेठी श्रीमती गोमाले वडा कार्यालयमा गई मञ्जुले जनकसँग २०७६ असार २३ गते नै सम्बन्ध विच्छेद गरिसकेकाले मृत्युदर्तामा आफ्नो मात्रै नाम राख्न माग गरेकी थिइन्।

श्रीमतीको महलमा आफ्नो नाम मात्र राखि मञ्जुको नाम हटाई पाउँ भनि निवेदन दिएकी थिइन्। वडा कार्यलयले २०७९ पुस २९ गते लम्किचुहा नगरपालिकाबाट निर्णय गराई जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीलाई जनकको मृत्यु दर्ता प्रमाणपत्र रद्दको पत्र लेखेको थियो।

२०७९ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय कैलालीले मृत्यु अगाडि नै सम्बन्ध बिच्छेद भइसकेकाले मञ्जुले झुट्टा विबरण पेश गरी मृत्यु दर्ता गराएको हुँदा मञ्जुलाई राष्ट्रिय परिचय पत्र तथा पंजिकरण ऐन अनुसार कारबाही गर्न भनि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाएको थियो।

ईलाका प्रहरी कार्यालय लम्कीमा पत्र पुगेपछि २०७९ फागुन २५ गते झुट्टा विबरण पेश गरी मृत्यु दर्ता गरेको कसुरमा मुद्दा दर्ता भएको थियो। २०७९ फागुन २६ गते मञ्जुलाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो। २०७९ चैत १७ गते कैलाली जिल्ला अदालतले मञ्जुलाई २० हजार रुपैयाँ धरौटीमा तारेखमा छोडेको थियो।

२०७९ चैत २८ गते मञ्जुले आफूलाई सौता गोमा रावल, निजको छोरी वर्षा रावल र भतिजा भरत रावलले जग्गाको विषयलाई लिई ज्यान मार्ने धम्मी दिएको भन्दै इलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन दिएकी थिइन्। त्यसको भोलिपल्ट ईप्रकाले गोमा र मञ्जुलाई कार्यालयमा बोलाएर छलफल गराएको थियो।

तर २०८० जेठ २५ गते मञ्जु बेपत्ता भइन्। उनका छोरा विवेक रावलले आमा मञ्जु रावल उक्त मितिमा वकिललाई भेट्न जान्छु भनेर गएको र बेपत्ता भएको भन्दै असार १ गते खोजतलास गर्न इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिए।

घरबाट हिँडेको साँझबाट मञ्जुको मोबाइल समेत बन्द भएको थियो। ईप्रकाले हुलियासहित परिपत्र गरेको थियो। प्राविधिक रुपमा पनि प्रहरीले अनुसन्धान थालेको थियो। मञ्जुले प्रयोग गर्ने मोवाइलको सीडीआर हेर्दा अन्तिम पटक मञ्जु र शरिता रावलको मोवाइलमा २ पटक सम्पर्क भएको देखियो।

उनीहरु दुवैको मोवाइल लोकेशन पनि एउटै स्थानमा देखिएको थियो। त्यसपछि गौरीगंगा नगरपालिका बडैपुरमा मोबाइल बन्द भएको थियो। मृतक मन्जुका भाइ सुरेन्द्र कार्कीले दिदीलाई बेपत्ता पारेको भन्दै गोमासहित भरत रावल, अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलिकी ३७ वर्षीया सरीता रावलको नाममा व्यक्ति बेपत्ता शिर्षकमा किटानी जाहेरी दिएका थिए। २०८० असार १३ गते व्यक्ति बेपत्ता शिर्षकमा मुद्दा दर्ता भएको थियो।

२०८० असार २५ गते डोटी दिपायल सिलगडी नगरपालिका ४ राजपुरबाट गोमालाई प्रहरीले पक्राउ गरेको थियो। गोमाकी छोरी वर्षा रावललाई साउन ४ गते कैलालीको धनगढी उप–महानगरपालिका १ धनगढी बजारबाट पक्राउ गरेको थियो। त्यसैदिन धनगढी उपमहानगरपालिका ३ त्रिनगरबाट भरत रावल पनि पक्राउ परे। साउन १२ गते सोही स्थानबाट सरिता रावल पक्राउ परिन्। साउन १४ गते सरिता रावलले देखाएको स्थान मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै मञ्जुको शव फेला परेको थियो।

खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको हड्डी (कंकालहरु) टुक्रा–टुक्रा फेला परेको थियो। हड्डीमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट मञ्जुका छोरा विवेकले पहिचान गरेका थिए। मञ्जु र गोमाबीच अंशको विषयलाई लिएर विवाद भएको र सोही विषयलाई लिएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मञ्जुको नाममा रहेको जग्गा जमिनको विषयलाई लिएर गोमा रावल, उनकी छोरी वर्षा रावल र भतिजा भरत रावलले मञ्जुलाई मार्ने योजना बनाएको प्रहरीको दाबी छ। हत्यामा सरिता रावल लगायतको पनि संलग्नता देखिएको छ। प्रहरीले उनीहरु चार जनालाई नै पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।