FLASH NEWS

संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार १८:२७ मा प्रकाशित १३९९ पाठक संख्या

काठमाडौं – संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन भएको छ । सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम सुनुवाइ समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


सरकारले दुई साताअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधिमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधीर भट्टराईको नाम सिफारिस गरेको थियो ।

‘संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १९ अनुसार प्रस्तावित व्यक्तिहरुले प्रस्तावित पदका लागि आफ्नो योग्यता, अनुभव, अभिरुची र उक्त पद वहन गर्ने सन्दर्भमा आ-आफ्ना धारणा, कार्ययोजना र सोचका सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले गर्नुभएको प्रस्तुतिकरण र प्राप्त उजुरीहरुमाथि समितिले विस्तृतरुपमा छलफल गरी समितिको आज बसेको बैठकले प्रस्तावित सबै व्यक्तिहरुलाई प्रस्तावित व्यक्तिहरुलाई प्रस्ताव गरिएको पदमा नियुक्तिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरेको छ,’ सभापति कार्कीले भने ।

उनका अनुसार ६ जनाउपर ५ वटा उजुरी परेका थिए । प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा परेका ५ वटा उजुरीमध्ये ३ वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्तिकेन्द्रित रहेको पनि सभापति कार्कीले बताए ।

असार २६ गते सरकारले राजदूतमा परराष्ट्र मन्त्रालयका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको थियाे । राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरूकाे कार्यकल सुरु हुनेछ । राजदूतको कार्यकाल ४ वर्षे रहेको छ ।